विषयसूची

१. सम्बन्ध (Relationships) लाई कसरी बुझ्ने ?

संसारमा मानिसहरू एक अर्काप्रति कुनै न कुनै प्रकारले सम्बन्धित भएका हुन्छन् । कुनै अवस्थामा सम्बन्धलाई सजिलै व्याख्या गर्न सकिन्छ भने कुनै आवस्थामा सजिलै व्याख्या गर्न सकिँदैन । हामी सजिलै व्याख्या गर्ने सम्बन्धलाई मात्र सम्बन्धका रुपमा बुझेका हुन्छौं । यस्तो सम्बन्ध दुई वा दुई भन्दा बढी व्यक्ति, समूह वा समूहहरूसँगको रहन्छ । यस्ता सम्बन्धहरू दुई पक्षबीचको स्वार्थ, भावना, प्रतिबद्धता र चाहना मेल खाँदा विकास हु“दै जान्छन् । प्रायः जसो व्यक्तिगत सम्बन्धहरू संवेग वा मन पराउने वा भावनात्मक मिलनमा नै विकास भएका हुन्छन् ।

सम्बन्धहरू धेरै अवस्थाहरूमा अभिव्यक्त भएका हुन्छन् । जस्तै पारिवारिक, साथी-साथीबीच वैवाहिक, कामसँग सम्बन्धित, पेसागत,धार्मिक, सामाजिक आदि । यी सबै सम्बन्धहरूका ५ वटा तहहरू हुन्छन् ।

क) देखभेट (Acquaintance): सम्बन्धको सुरूवात देखभेटबाट नै हुन्छ । विगत देखिको देखभेट वा नजिकै बस्ने, सधैँ देखिरहने वा पहिलो जम्काभेटमै प्रभावित हुने आदि कारणहरूबाट नै सम्बन्धको सुरूवात हुन्छ ।

ख) विश्वास बढ्ने (Build Up): सम्पर्क भइरहेपछि वा मन मिलेको खण्डमा एकले अर्कालाई विश्वास गर्ने, हेरविचार गर्ने र आफ्ना भावना, सोच विचारहरू आदानप्रदान हुने हुन्छ ।

ग) निरन्तरता (Continuation): विश्वास बढ्दै गयो भने सम्बन्धले निरन्तरता पाउँदै जान्छ । सम्बन्धका कारण दुवै पक्षलाई सन्तुष्टि वा फाइदा भयो भने सम्बन्ध अझ गाढा हुँदै जान्छ । व्यक्तिहरूबीचको सम्बन्धमा स्थायित्व हुने सम्भावना बढी हुन्छ । प्रेमीप्रेमिकाको सम्बन्ध हो भने विवाह हुने, घरजम हुने, सधैँ सँगै बस्ने दिगो सम्बन्धको रूपमा विकास हुन्छ ।

घ) चिसो सम्बन्ध (Deterioration): सम्बन्धमा चिसोपन पनि सुरू हुनसक्छ । भावना, सोच, आकाब्क्षा वा उद्देश्य मिलेन वा विश्वासमा सड्ढट पर्दै गयो भने सम्बन्ध बिग्रने वा चिसो हुन थाल्छ ।

ङ) सम्बन्धको अन्त (Termination): विश्वास टुट्यो भने वा एउटा पक्षले छोड्यो वा मृत्यु नै भयो भने सम्बन्धको अन्त हुन्छ । मानव जातिमा सम्बन्धहरूको विकास र अन्त निरन्तर प्रक्रिया हो ।

२. कसैसँग सम्बन्ध राखेर के फाइदा हुन्छ ?

व्यक्तिहरूबीच असल सम्बन्ध भइ रहेमा यसका धेरै फाइदाहरू हुन्छन् । तीमध्ये केही फाइदाहरू निम्नअनुसार छन् ।

१. विश्वासः असल सम्बन्धले विश्वास बढाउँछ र विश्वासले सम्बन्धलाई लामो र मजबुत बनाउँछ । एक अर्कामा विश्वास हुनेवित्तिकै आत्मविश्वास बढ्ने, सन्तुष्टि बढ्ने, प्रगति हुने हुन्छ ।

२. स्वीकार : जब एकअर्कामा विश्वास बढ्छ, आफ्ना गल्ती कमजोरीहरूप्रति इमानदार भइन्छ । किनभने, तिनीहरूलाई बिना पूर्वाग्रह र आलोचना स्वीकार गरिन्छ ।

३. सहयोगःअसल सम्बन्धहरू भइरहेमा आफूलाई आवश्यक परेको बेलामा जस्तेसुकै सहयोग पाइन्छ । मानवसमुदायको विकास र उन्नति उनीहरूबीचको आपसी सहयोगबाट मात्र सम्भव हुन्छ ।

४. सुनिदिनेः असल सम्बन्ध भइरह्यो भने अप्ठ्यारो अवस्थामा पनि आफ्ना कुरा बिना पूर्वाग्रह सुनिदिने मान्छे हुन्छन् । यसले तनाव र पीडा कम गर्न ठूलो मद्दत मिल्छ ।

५. सुझबुझः लामो सम्बन्ध हुनेबित्तिकै भन्न खोजेको परिवेश र अवस्थालाई सजिलै बुझ्ने अवस्था आउँछ । त्यसरी परिवेश र अवस्था बुझ्ने बित्तिकै त्यसपछिका कामहरू सजिलै गर्नसक्ने अवस्था सिर्जना हुन्छ।

६. आपत विपदमा सहयोगः असल सम्बन्ध कायम राख्न सकेको खण्डमा आफूलाई आवश्यकता परेको सहयोग तुरून्तै प्राप्त हुन्छ । आपत्विपतकै कारण सिर्जित समस्याबाट मुक्ति पाइन्छ ।

७. साटासाटः दुई असल सम्बन्ध बिचमा सुख, दुःख दुवै आदान-प्रदान गर्न सकिन्छ । यी यस्ता कारणले खुसी र दुःखलाई सजिलै व्यवस्थापन गर्ने क्षमता विकास हुन्छ ।

८. तनाव कम गर्नेः आफ्ना दुःख र सुखहरू अभिव्यक्त गर्ने असल साथीहरू फेला पारेको खण्डमा तनावबाट प्रशस्त छुट्कारा पाउन सकिन्छ । असल सम्बन्धले काम गर्ने क्षमतामा वृद्धि गराउँछ र साथीभाइ, इष्टमित्र र परिवारको सम्बन्ध राम्रो हुने बित्तिकै तनाव आफै कम हुन्छ ।

९. सन्तुष्टि र खुसीः असल सम्बन्ध हुने बित्तिकै एकले अर्कोलाई मन पराउने हुन्छ । उसका कुराहरू मन पर्छन् । सधैं सहयोगी र उत्साही वातावरण बन्छ । त्यसले सन्तुष्टि र खुसी मिल्छ । ख्याल गरौं ! असल सम्बन्ध निर्माणमा दुवै पक्षको उत्तिकै भूमिका हुन्छ । कसैबाट असल सम्बन्धको आशा गर्नुभएको छ भने आफूले पनि त्यस्तै सम्बन्ध कायम गर्न प्रयत्न गर्नुपर्छ ।

३. यौन सम्बन्ध भनेको के हो ?

यौन जोडीको बिचमा हुने असल सम्बन्ध हो । आपसी समझदारीमा यौन चाहना पुरा गर्न गरिने सम्बन्ध हो । दुई व्यक्तिहरूको चाहना विपरीत यौन सम्बन्ध हुन सक्दैन । कसैले त्यसो गर्न खोजेमा यौन अपराध हुने छ । यौन सम्बन्धका बारेमा यौन र यौन सम्बन्ध पुस्तिकामा विस्तृतमा लेखिएको छ ।

४. मित्रतालाई कसरी बुझ्नु पर्दछ ?

वास्तवमा मित्रताको परिभाषा दिनु साह्रै गाह्रो विषय हो । न यो विद्यालयमा सिकाइन्छ न त घरमा । यो मानिस आफैले आफ्नो उमेर र समयसँगसँगै सिक्दछ र असल मित्रताले जीवन खुसीमय पनि बनाउँदछ । नेपाली भाषामा एउटा उखान नै छ “संगत अनुसारको फल” अर्थात् मानिस भविष्यमा के बन्छ भन्ने कुरा उसको किशोरावस्थाको संगतमा भर पर्दछ।

अवस्था त्यस्तो अवस्था हो जहाँ किशोरकिशोरीलाई आफ्नो आमाबुवा भन्दा साथीभाइ प्यारो हुन्छ । साथीहरूसँग समय बिताउन मन पर्छ र साथीहरूले जे गर्यो त्यही गर्न मन लाग्छ । तसर्थ यो समयमा गरिने संगतको भविष्यमा नै असर पर्ने हुँदा सही मित्रता गाँस्नु अत्यन्त आवश्यक हुन्छ ।

हामी सबैका निम्ति महत्वपूर्ण विषय हो । असल मित्र पाउने मानिसहरू जीवनमा खुसी र सुखी रहन्छन् । असल मित्र पाउने मानिसले जीवनमा सफलता हासिल गर्न सक्दछ । यदि खराब मित्र सँगत छ भने त्यो पिडादायी पनि हुनसक्छ । त्यसैले हामीले जीवनमा साथी वा मित्र बनाउँदा होसियार हुनुपर्छ र विशेष ध्यान दिनुपर्छ । गलत मित्रताले खराब लत र गलत बाटोमा डोहर्याउन सक्छ । आफूले पनि अरुको निम्ति असल मित्र बनौं र आफू पनि असल मित्र नै रोजौं ।

५. साथी बनाउँदा ध्यान पु-याउनुपर्ने कुराहरू के के हुन् ?

विद्यालय र कलेज जीवनमा केटा र केटीबीच साथी बन्ने लहर विगतमा भन्दा बढ्दो अवस्थामा छ । राम्रो सीप र क्षमता हुनेहरूले धेरै जनालाई साथी बनाएका हुन्छन् । केटासाथी र केटीसाथी अर्थात् ' गर्लफ्रेण्ड ' (Girlfriend ) र ब्वाइफ्रेन्ड ' (Boyfriend) का बारेमा भ्रमहरू व्यापक बन्दै छन् । ती भ्रमहरूका कारण कतिपयका जीवनमा नकारात्मक घटनाहरू जन्मिएका छन् । उनीहरूले आफ्नो फराकिलो भविष्यलाई समेत साँघुरो बाटोमा हिँडाउनु परेको छ । यससँग सम्बन्धित विविध पक्षलाई यहाँ प्रस्तुत गरिएको छ ।

  • उमेर, लिङ्ग, भाषा, धर्म, शारीरिक अवस्था, सम्पत्ति जस्ता आधारमा नभएर व्यवहार, भावना तथा विचार र काम तथा जिम्मेवारीको आधारमा साथी बनाउनु पर्दछ । शारीरिक बनौटले राम्रो देखिनेभन्दा योग्यता, क्षमता र गुणका आधारमा देखिने राम्रो नै सबैभन्दा राम्रो हुन्छ ।

  • केटा वा केटी साथी बन्ने - बनाउने भनेको एकजनासँग मात्र हुनुपर्ने भन्ने संकुचित सोंचाइ हो । राम्रा मान्छे सबैसँग साथी बन्न - बनाउन सकिन्छ ।

  • यौन सम्पर्क गर्ने मनसायबाट प्रायः केटाहरूले केटीसाथी बनाउन चाहन्छन् र मौका मिलेमा दवाव दिन थाल्छन् । यस्तो अवस्थामा साथीसँगको सम्बन्धलाई सकेसम्म नबिग्रने गरी ' नाई ' भन्न सक्नुपर्छ र त्यो अवस्थाबाट उम्कनु पर्दछ । त्यसैले साथीको व्यवहारका बारेमा राम्रो जानकारी नभई एक्लो परिने ठाउँ वा डेटिङ्गमा जानु हुँदैन । गए पनि सावधानी अपनाउनु पर्दछ ।

  • साथीहरूप्रति सधै शंकाको दृष्टिले मात्रै पनि हेर्नु हुँदैन तर कुनै पनि बेला फस्न सकिन्छ भनेर होसियारी अपनाइ रहनु पर्दछ ।

  • यौन व्यवसाय गराउने वा लागू पदार्थ प्रयोग गर्ने व्यक्तिहरू नयाँ ग्राहकको खोजीमा पनि नयाँ साथी बनाएर नै सुरु गरेका हुन्छन् । त्यसका बारेमा पनि सधैं होसियारी अपनाउनु पर्दछ ।

  • साथी आफ्नो लक्ष्यप्रति कति दृढ छ र परिवार तथा समाजप्रति कति जिम्मेवार छ भन्ने कुरालाई राम्रोसँग बुझ्नुपर्छ । कुनै न कुनै किसिमको कुलतमा लागेका साथीहरू लक्ष्यसँग धेरै सरोकार राख्दैनन्, न त परिवार र समाजप्रति नै जिम्मेवार हुन्छन् । उनीहरू केवल आफ्नै साथी समूहमा मात्रै रमाउन चाहन्छन् । व्यवहारमा परिवर्तन ल्याउने उद्देश्य बनाएर उनीहरूको साथी बन्नुपर्दछ ।

  • राम्रो साथी बन्न अरूका भावना र प्रस्तुतिहरूलाई राम्रोसँग बुझिदिनु र सहानुभूति राख्नुपर्दछ । किनकि विद्यालयमा वा क्याम्पसमा विभिन्न ठाउँ र समुदायबाट आएका साथीहरू हुन्छन् ।

  • साथीहरू राम्रा र नराम्रा दुवै हुन्छन् । ती सबैका व्यवहारको विश्लेषण गर्ने बानीको विकास गर्न साथीहरूसँग सकारात्मक तरिकाले छलफल चलाउनु पर्दछ । समान लक्ष्य भएका साथीहरूसँग नयाँ कुराहरू आदान प्रदान गर्ने र छलफलमा सहभागिता बढाउने गर्नुपर्दछ ।

  • आफ्नो व्यक्तिगत अवस्था वा कमजोरीलाई लिएर गिज्याउने वा टीका टिप्पणी गर्ने साथीहरू पनि पाइन्छन् । त्यस्तो अवस्थामा हतोत्साहित हुँदा आफ्ना राम्रा कुराहरू पनि हराउँदै जाने हुनाले आफू जस्तो अवस्थामा छु त्यसलाई स्वीकार्नु पर्दछ जसले गर्दा सकारात्मक परिवर्तन र सिर्जनात्मक सोचाइको विकास हुँदै जान्छ।

  • साथी बनाउने तरिका र भूमिका हरेकको फरक फरक हुन्छन् । तरिका जस्तो भएपनि स्पष्ट र प्रभावकारी सञ्चार गर्ने बानीको साथीसँगको सम्बन्ध राम्रो रहिरहन्छ । साथीहरूलाई ढाँट्ने छल्ने गर्यो भने मित्रता टुट्छ । इमानदार र पारदर्शी भयो भने सधैं राम्रो सम्बन्ध रहन्छ ।

  • प्रायः विद्यालय र कलेज जीवनमा आफूलाई मन पर्ने र आफूलाई मन पराउने साथी फरक फरक परिरहेका हुन सक्छन् । यो सामान्य कुरा हो । तर आफ्नो मन पर्नेलाई मन पराउने साथीहरूलाई पनि सम्मान गर्दा सबैभन्दा असल साथी हुन सकिन्छ।

  • साथीको व्यवहारले गर्दा मानसिक तनावमा पनि पर्न सकिन्छ । तनावबाट मुक्त हुन सकिने थुप्रै विकल्पहरू बनाउने र राम्रो विकल्पलाई आफ्नो लक्ष्यसँग जोडेर काममा व्यस्त हुनुपर्दछ । सधैं सकारात्मक सोचाइ बनाउने मानिसले तनावको व्यवस्थापन गर्न सक्दछ ।

  • जीवनलाई सिर्जनात्मक र सुन्दर बनाउने लक्ष्यप्रति आत्म विश्वास बढाउने कामको थालनी कलेज प्रवेश गर्दादेखि नै गर्नु पर्दछ । समय समयमा उपलब्धिहरूको आत्मसमीक्षा गर्दै जानुपर्छ । यसो गरेमा असल साथी र असल मित्रता सधैं रहिरहन्छ ।

६. मायाप्रेमलाई अहिलेको सन्दर्भमा कसरी बुझ्ने होला ?

माया–प्रेमका बारेमा विद्वान्हरूले धेरै पुस्तकहरू लेखिसकेका छन् । धेरै थरी व्याख्या छन् । तर माया वा प्रेमलाई आकर्षणसँग सम्वन्धित संवेग र अनुभवहरूको सँगालोको रूपमा लिन सकिन्छ । माया प्रेम भनेको आनन्द प्राप्ति गर्ने देखि अन्तव्र्यक्ति आकर्षणसम्मका विभिन्न अवस्थाहरूमा प्राप्त गरिने भावनाहरू हुन् । कुनै व्यक्ति बीच माया छ भने उनीहरूको सम्बन्ध पछिसम्म पनि रहिरहन्छ तर यदि उनीहरूबीच माया नै छैन भने सम्बन्ध एउटा बोझ मात्र हुन्छ र कुनै पनि बेला त्यो सम्बन्ध टुट्छ चाहे त्यो वैवाहिक सम्बन्ध नै किन नहोस् ।

माया व्यक्तिप्रति मात्र हुन पर्छ भन्ने छैन । माया देशप्रति पनि हुन सक्छ। घर परिवार, सामान, सामग्री, काम, सँगै पढेको साथी, आफन्त, जनावर, आदि सबैप्रति पनि माया प्रेम हुन सक्दछ । कुनै व्यक्तिप्रति शारीरिक रुपले आकर्षित हुनुलाई मात्र माया हो भन्नु सरासर गलत हो । माया भनेको कुनै व्यक्ति वा बस्तुलाई माया गर्ने, यसलाई कालान्तरसम्म बचाएर राख्नुपर्छ, यो मेरो मुटुको टुक्रा हो, मेरो जिन्दगीसँग जोडिएको छ जस्ता अभिव्यक्तिहरू हुन् । माया भनेको खुसी र सुखी जीवनको अभिन्न पाटो हो । त्यसैले मायालाई दुई भागमा बाँडेर बुझ्न सकिन्छ ।

१. वस्तुप्रतिको माया - देशको माया, सिद्धान्तप्रतिको झुकाव, ठाउको माया आदि ।

२. व्यक्तिप्रतिको माया - व्यक्तिले व्यक्तिलाई गर्ने माया । माया–प्रेमका

३ वटा चरणहरू हुन्छन् । यी चरणहरू एक अर्कामा सम्वन्धित हुन्छन् र जोडिएका पनि हुन्छन् । जो यसप्रकार छन् :

क. मायाको तिव्र चाहना (Lust)

हाम्रो शरीरमा पाइने यौन हर्मोनहरू टेस्टोस्टेरन (Testostrone) र इस्ट्रोजेन (Oestrogen) का कारणले आफूले मन पराएको व्यक्तिप्रति तिव्र रूपमा आकर्षित हुने र त्यो व्यक्तिलाई प्राप्त गर्ने र आफ्नो बनाउने तिव्र चाहना हुन्छ । यसले माया–प्रेम वा एकले अर्कालाई मनपराउने अवस्थाको सिर्जना गर्छ । आकर्षण गराउँछ ।

ख. आकर्षण (Attraction) प्रेमको तिव्र चाहनाका कारण आकर्षित व्यक्तिहरूको वीचमा विकास हुँदै गएको सम्बन्ध हो आकर्षण । आकर्षणका लागि शरीरमा भएको विभिन्न हर्मोनहरू (जस्तै डोपामिन, नरइफिड्रिन, सेरोटेनिन) ले काम गरिरहेका हुन्छन् । यस अवस्थामा व्यक्तिले यौन सम्बन्ध कायम गर्ने वातावरण सिर्जना गर्ने प्रयत्न गर्छ र आनन्द प्राप्त गर्छ । आकर्षण दुई विपरीत लिङ्गबिच मात्र हुन्छ भन्ने छैन । यो त केटा केटा र केटी केटीमा पनि हुनसक्छ । आकर्षणबिना सम्बन्धको सुरुवात हुन सक्दैन । यस उमेरमा धेरैजसोलाई आफू आकर्षक हुन मन लाग्छ । त्यसैले केटाहरू के गरेमा केटीको आकर्षण आफूतिर हुन्छ भन्नेमा बढी ध्यान दिन्छन् । सफा चिटिक्क परेको कपडा लगाउने, कपाल कोर्ने वा छाँट पारेर काट्ने, गीत गुनगुनाउने, वाद्यवादनका साधनमा मन दिने, नाचगान गर्ने, समूह निर्माण गरी नेतृत्व लिन चाहने, आफूलाई वरिष्ठ छु भनेर देखाउने, गीत कथा, कबिता, गजल कोर्ने, सुनाउने जस्ता गतिविधि मार्फत आफुलाई भिन्न देखाउन चाहने हुन्छन् । केटीहरूमा पनि राम्री देखिन विभिन्न श्रृङ्गारका साधनहरू प्रयोग गर्न मन लाग्ने, आफू कत्तिको राम्री भएँ भनेर ऐनामा हेरिरहन मन लाग्ने, लाजले मसक्क पर्ने, सफा, चिटिक्क र टम्म परेका कपडा लगाउन मन गर्ने, साथी समूहको नेतृत्व लिन चाहने, आफ्नो हैकम देखाउन चाहने, मायालु र सहयोगी भावना व्यक्त गर्ने जस्ता व्यवहारबाट आफूलाई आकर्षक भएको देखाउने चाहना राख्दछन् । यही आकर्षणको कारणले गर्दा केटाहरूले केटीहरूलाई जिस्काउने, केटीहरूले केटाहरूलाई जिस्काउने गर्दछन् । यस उमेरमा आकर्षणलाई कसरी व्यवस्थापन गर्ने, कसरी व्यक्त गर्ने भन्ने सीप किशोरकिशोरीलाई थाहा नभएकाले गर्दा उनीहरू त्यसरी अर्कालाई जिस्काउने, ठट्टा गर्ने, उल्याउने जस्ता कार्य गर्न उत्साहित हुन्छन् ।

ग. मायाको निरन्तरता (Attachment) : मायाप्रेम निरन्तर रहिरहन्छ । यो निरन्तरताका लागि अक्सिटोसिन, भ्यासोप्रेसिन लगातयतका हर्मोनहरूले काम गर्छन् । आमाले बच्चालाई माया गरिरहने कारण यही हो । यसरी मायाप्रेम यौनिकताको एक अभिव्यक्ति हो ।

७. मायाको सुरुवात कसरी हुन्छ ? यसमा कस्तो किसिमको आपसी समझदारीको जरुरत पर्दछ ? यसले मानिसको जीवनमा कस्तो परिवर्तन ल्याउँछ ?

जब कुनै दुई व्यक्तिको आपसमा सोचाइ र व्यवहारमा केही तालमेल मिल्छ, उनीहरू एक आपसमा आबद्ध हुन जान्छन् । यही आबद्धतामा भावनात्मकता र संवेगको तालमेल मिल्यो भने त्यसलाई नै माया बसेको भन्ने गरिएको छ । यसको सुरुवातमा जस्तोसुकै (सकारात्मक वा नकारात्मक) तरिकाले सुरु भए मात्रामा पनि भावनात्मकता गासिए पछि भने तिनै व्यक्तिको बारेमा सोच्ने, योजना बनाउने, भेट्दा रमाइलो महसुस गर्ने, छुट्टिँदा खालीपन महसुस गर्ने जस्ता विभिन्न भावनाहरू उत्पन्न हुन्छन् । तर माया बस्यो भन्दैमा सबै कुरा बिर्सेर लिप्त हुँदा भने आफ्नै मायालु छुट्टिएर जाने डर पनि हुन्छ । त्यसकारण मनमा माया बसेको अवस्थामा पनि उसलाई राम्रो लाग्ने र आफ्नो लागि पनि हानि नहुने खालका व्यवहारहरू मात्र गर्नु पर्दछ । शारीरिक मोह मात्र माया होइन बरु यो त भोक हो । यसले लाभभन्दा बढी हानि नै गर्दछ । माया बसिसकेपछि भने केही कुराहरूमा ध्यान दिनु अति आवश्यक छ । जस्तो समय व्यवस्थापन । धेरै समय मायाको बारेमा सोचिरहने तर भविष्यको लागि केही नगर्ने मायालु कसैलाई पनि मन पर्दैन । माया बस्यो भन्दैमा चुम्बन गर्ने, शारीरिक रुपमा टाँसिन खोज्ने आदि क्रियाकलापले पनि विशेष गरी केटीहरूमा असहयोग, डर, त्रास र घृणा पैदा गर्दछ ।

अर्को महत्वपूर्ण कुरा आपसी संवाद पनि हो । आपसी संवादका लागि एक्लै एकान्तमा भन्दा साथीसँगी भएको स्थानमा भेट्नु जरुरी हुन्छ । यसो गर्दा आफ्नो मायालुलाई सामाजिक रुपमा चिन्न पनि सकिन्छ र उसका झुट र झेलबाट बच्न सकिन्छ । त्यसै बेला सबैको अगाडि एक अर्काको भावनालाई उत्प्रेरणा (परोक्ष रुपमा) दिई माया र मोह (आकर्षण) मा फरक छुट्याउन पनि सकिन्छ । नियन्त्रित र संयमित भावनाले व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गर्दछ । तर किशोरावस्थाको माया भने व्यक्तिलाई परिपक्व बनाउने एउटा आधार मात्र पनि हुन सक्छ । यसले जीवनमा विपरीत लिङ्गीसँगको सम्बन्धका बारेमा धेरै कुरा सिकाउँछ । उनीहरूको भावना बुझ्ने, उनीहरूको आवश्यकतालाई केलाउने र आफूले गर्न सक्ने र नसक्ने सहयोगहरूका बारेमा पनि यस बेलाको मायाले सिकाउँछ ।

समस्या बन्दै युवा तथा किशोरकिशोरीहरूका लागि हिजोआज मोबाइल फोन आवश्यकताभन्दा बढी फेसन भएको छ । सञ्चारको साधनलाई प्रयोग गर्न नजान्दा यसको दुरुपयोग भएको छ अनि युवापुस्ताले अनावश्यक झन्झट बेहोर्नु परिरहेको छ । भारतमा मोबाइल फोनमार्फत यौन भिडियोहरू आदानप्रदान व्यापक भएपछि केही स्कुल र क्याम्पसहरूले मोबाइल फोनलाई आफ्नो क्षेत्रभित्र प्रतिबन्ध लगाएको समाचारमा आएका छन् । नेपालमा पनि केही विद्यालय र कलेजहरूले यस्तो प्रतिबन्ध लगाएका छन् ।

अहिले धेरै जसोका हातहातमा स्मार्ट मोबाइल फोन छ । यो फोनसेटलाई युवापुस्ताले सञ्चारको आवश्यक साधनका रुपमा भन्दा बढी मनोरञ्जनको साधन बनाएका छन् । खासगरी फेसबुक, इन्स्टाग्राम, युट्युब चलाउन र सेल्फी खिच्नका लागि मोबाइल प्रयोग गरिएकोछ । यसो गर्नु आफैमा नराम्रो त हैन । आवश्यक कुराकानी गर्न, एकापसमा सम्बन्ध स्थापना गरी आफ्नो व्यक्तित्व विकास गर्न यी प्रविधिहरूको प्रयोग गर्नै पर्छ । तर यसको दुरुपयोग हुनबाट भने बच्नै पर्दछ । सार्वजनिक गर्न नमिल्ने किसिमका सेल्फी खिच्ने, फेसबुक, इन्स्टाग्राम, युट्युब जस्ता मिडियामा राख्ने, त्यस्ता मिडिया मार्फत केटासाथी वा केटीसाथी बनाउन खोज्ने, अर्काको नक्कली आइडि बनाएर फेसबुकमार्फत अनावश्यक सामग्रीहरू पठाइदिने, मोबाइल फोन मार्फत यौनजन्य कुराकानी गर्ने, म्यासेज पठाउनु, अथवा यौनक्रियाकलापसँग सम्बन्धित भिडियो क्लिप हेर्नु जस्ता गतिविधिले मोबाइल फोनको दुरुपयोग बढाएको छ । यसबाट विकृति बढ्न गई परिवार र समाजमा असहज परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । यसबाट पीडित किशोरकिशोरीहरूले जीवनोपयोगी सीपको अभावमा समस्यालाई समाधान गर्नुभन्दा आत्तिने गर्दछन् । तर आफ्ना साथीहरूलाई यसबारेमा बताएर र साथीहरूले पनि यस्तो समस्यालाई सकारात्मक तरिकाबाट समाधान गर्न सहयोग गरेर मोबाईल फोनको दुरुपयोगबाट हुन सक्ने जोखिमलाई समाधान गर्न सकिन्छ ।

नभई पनि नहुने, हुँदा पनि घाँडो भएको छ युवा तथा किशोरकिशोरीलाई मोबाइल फोन । समयमै बानी नसुधारेमा अथवा प्रविधिको प्रयोग गर्न नजानेमा मोबाइलले समय मात्र होइन भविष्य पनि वर्वाद पारिदिन्छ ।

८. किशोरकिशोरी अवस्थामा दुई विपरीत लिङ्गका व्यक्तिहरूको बीच सम्बन्धको सुरुवात कसरी हुन्छ ?

किशोरकिशोरी अवस्था एउटा त्यस्तो अवस्था हो जसमा केटा र केटी दुवैले भर्खरै बालपन सकेर यौवन अवस्थामा प्रवेश गरेका हुन्छन् । भर्खरै शरीरका सम्पूर्ण बाहिरी तथा भित्री अङ्ग विकसित हुन थालेका हुन्छन् । साथै सोचाइको पनि विकास भएको हुन्छ । विपरीत लिङ्गप्रतिको आकर्षण हुने, यौन चाहना हुने र यौन सम्बन्ध कायम गर्न मन लाग्नु भनेको किशोरअवस्थामा हुने स्वाभाविक कुरा हो । यस्तो हुन आवश्यक पनि छ ।

किशोर अवस्थाका केटा र केटीको शरीर र मनमा कैयौँ परिवर्तन हुने क्रममा दुई विपरीत लिङ्गीप्रति उनीहरूको कौतूहलता बढ्ने र एक अर्काको उपस्थिति पूरक र आनन्ददायी अनुभव प्रदान गर्ने भएका कारणले पनि केटाकेटी एकअर्कासँग आकर्षित हुन्छन् । यस्तो अवस्थामा ध्यान दिनुपर्ने कुरा के छ भने किशोर अवस्थामा आकर्षणलाई नै स्थायी माया वा सम्बन्ध ठानेर जोखिमपूर्ण व्यवहारसमेत हुन सक्दछन् । जस्तैः सानै उमेरमा यौन सम्पर्क गर्ने, पढाइमा मन नजाने, धेरै सोच्ने वा कल्पना गर्ने बानी, वयस्क व्यक्तिहरूबाट भावनात्मक रुपमा टाढा रहने, वा यौन शोषणमा पर्ने आदि । त्यसैले सुरु भइरहेको सम्बन्ध समझदारीपूर्वक भएको हो वा केवल आकर्षण मात्र हो भनेर थाहा पाउनु जरुरी छ ।

९. किन केटा–केटीहरू सधैँ माया र सम्बन्धका बारेमा सोच्दछन् ?

माया र प्रेम एउटा भावना हो, जुन हामी आमाको गर्भमा केही महिनाको हुँदैमा विकास भएको हुन्छ । समयसँगै यसको प्रयोग भिन्न अवस्थामा भिन्न रुपमा भएको हुन्छ । धेरै किशोरकिशोरीहरूले यो मायालाई बढी प्राथमिकता दिने गरेका छन् । यसको कारण भने अकस्मात् आउने आकर्षण र भावनात्मक परिवर्तन नै हो । यो सबै व्यक्ति (केटा र केटी) मा हुने गर्दछ । यो भावना धेरैले देखाउन सक्दैनन् पनि । तर यसले दिमागमा ठुलै ठाउँ लिएको हुन्छ र धेरै कामहरूलाई असर गर्दछ । माया–प्रेम र सम्बन्धका बारेमा सोच्नु प्राकृतिक कुरा हो । तर सबै माया वा सम्बन्ध यौन व्यवहारकै लागि वा यौन सम्बन्धमा परिणत हुँदैनन् । माया प्रेम र सम्बन्धले परिवार, समाज र देशलाई एक ढिक्का बनाएको हुन्छ ।

१०. केटाहरू किन केटी साथीसँग र केटीहरु केटा साथीसँग बढी रमाइलो महसुस गर्छन् ?

सामान्यतया हामीहरू किशोरावस्थामा केटासाथी र केटी साथीको सामीप्यतालाई मन पराउने गर्दछौं र रमाइलो महसुस गर्दछौं । प्र्रकृतिले केटा र केटी दुवैलाई मानसिक रुपमा र शारीरिक रुपमा पनि धेरै नै उस्तै बनाएको छ । जस्तो कि उनीहरूको बाहिरी अङ्गहरू धेरै मात्रामा उस्तै हुन्छन् । त्यस्तै गरी मुख, नाक, आँखा, छाला, कान जस्ता इन्द्रियहरू (sense organs) उस्तै हुन्छन् । तर उनीहरूको प्रजनन अङ्ग प्राकृतिक रुपमा नै फरक हुन्छ । यसका साथै त्यसका लागि आवश्यक पर्ने हर्मोनहरू (hormones) पनि धेरै नै फरक हुन्छन् । यी फरक हर्मोनहरूले गर्दा नै विशेष गरेर किशोर अवस्थामा हामी एक अर्काको उपस्थिति बढी रमाइलो महसुस गर्ने गर्दछौं । यस्तो किसिमको भावना पुरुषमा (केटामा) सधैं एकैनासको हुन्छ भने केटीहरूमा चाहिँ हर्मोनको घटीबढी भैरहने हुनाले महिनावारी सुरु भएको पहिलो हप्ता र तेस्रो हप्ता अरु दुई हप्ताको तुलनामा बढी हुने देखिएको छ । केटा र केटी बीचको सामीप्यता, सम्बन्ध र यौन व्यवहारलाई प्राकृतिक र मानव जीवनको निरन्तरताको एक सर्तको रुपमा लिनु पर्दछ ।

११. हामीलाई किन हामीले मन पराएको व्यक्ति अरुसँग बोल्दा र हिंड्दा जलन हुन्छ ?

मानिसको जीवन समाजको नीति नियम, मूल्य मान्यता, धारणा–अवधारणा आदि जस्ता तत्वहरूले निर्देशन दिए अनुरुप चल्ने गर्दछ । यसै अनुसार उसका इच्छा र चाहनाहरू निर्धारित हुन्छन् । यस्तै एउटा चाहना हो आफ्नोपन र आफ्नो मनपर्ने व्यक्ति आफ्नै होस् भन्ने भावना । मानिस सामाजिक भईकन पनि आत्मपरक हुन्छ । उसलाई अरुको सुविधाको ध्यान त रहन्छ नै तर सबैभन्दा पहिलो प्राथमिकता उसले आफूलाई नै दिन आवश्यक ठान्दछ । त्यसैले पहिले आफूले मनपराएको व्यक्ति आफ्नै होस् भन्ने भावना उत्पन्न हुन्छ । यदि आफूले मन पराएको व्यक्ति अरुसँग हिँड्छ, डुल्छ र बोल्छ भने हाम्रो मनमा उसलाई गुमाउने डर उत्पन्न हुन्छ र डरले गर्दा नै ईर्ष्या र डाह–जलन आदि संवेगहरू हामी महसुस गर्दछौं । तर यसलाई हामीले नियन्त्रण गर्न सक्नु पर्दछ । यदि हामीले हाम्रो दिमागमा कोही पनि व्यक्ति अर्को व्यक्तिसँग बोल्दैमा, हिँड्डुल गर्दैमा वा सँगै खाँदैमा उसैसँग प्रेममा पर्छ वा उसैप्रति आकर्षित हुन्छ भन्ने भ्रमलाई हटायौं भने यस्तो हुँदैन ।

१२. के केटा र केटी प्रेमी–प्रेमिकाको रुपमा बाहेक एउटा राम्रो साथी बन्न सक्दैनन् ?

अवश्य बन्न सक्छन् । मित्रता लिङ्ग ९क्भह० हेरेर गरिने चिज होइन । मित्रता भावनात्मक नाता भएकाले केटाकेटीमा एक–अर्काप्रति सम्मान, प्रेम र सकारात्मक सोेचाइ छ भने उनीहरू अवश्य पनि साथी बन्न सक्छन् ।

१३. किन केटा–केटीहरू विशेषगरी १५–१७ वर्षको उमेरमा मायामा पर्दछन् ?

किशोरावस्था भन्नाले १०–१९ वर्षको हो र यो मानव विकासको अवस्था हो भन्ने बुझिन्छ । यस अवस्थालाई पनि तीन भागमा विभाजन गर्न सकिन्छः

  • पूर्व किशोरावस्था (१०–१४ वर्ष)

  • मध्य किशोरावस्था (१५–१७ वर्ष)

  • उत्तर किशोरावस्था (१८–१९ वर्ष)

पूर्व किशोरावस्थामा किशोर–किशोरीहरूको शारीरिक विकासमा पूर्व किशोरावस्थामा किशोर–किशोरीहरूको शारीरिक विकासमा तीव्रता आउँछ । त्यसै गरी मध्य किशोरावस्थामा भने भावनात्मक विकासमा तीव्रता आउँछ । त्यसै गरी उत्तरकिशोरावस्थामा भने शारीरिक र भावनात्मक दुवै रुपमा अलि परिपक्व भई व्यावहारिक हुन थाल्दछन् । यसैकारण मध्यकिशोरावस्थामा केटा–केटीले विभिन्न प्रयोगहरू गर्न रुचाउँछन् । पढाइको सन्दर्भमा नै हेर्ने हो भने पनि केटा–केटीले यस अवस्थामा धेरै नै भावुक हुने, नयाँ कुराको खोज गर्ने आदि गर्दछन् । सामाजिक रुपमा उनीहरू समाजसेवा आदिका लागि उत्प्रेरित हुन्छन् र व्यक्तिगत रुपमा भावना व्यवस्थापन स्वरुप मायामा पर्छन् । यस बेलामा परेको माया पनि प्रयोगात्मक नै हुने गरेको पाइएको छ । यसर्थ यतिखेरको माया जीवनभरि जाने सम्भावना एकदम कम हुन्छ तर यसको सम्झना भने निकै नै गाढा हुने गर्दछ ।

१४. के प्रेममा पर्दा स्वास्थ्य सम्बन्धी फाइदाहरू हुन्छन् ?

मानिसको जीवनमा प्रेम र स्वास्थ्य दुवै महत्ववपूर्ण हुन् । मुख्यतः अन्य व्यक्तिसँगको निकटता र सम्मानको अनुभूति नै प्रेम तथा स्वस्थ सम्बन्धको सूचक हो । यस्तो सम्बन्ध वैवाहिक जीवनमा मात्र नभएर अन्य निकटका सम्बन्ध जस्तै साथी, साझेदार तथा अभिभावकसँग पनि हुनु सक्दछ । अनुसन्धानकर्ताहरूका अनुसार यस किसिमको सन्तोषजनक र लामो समयको सम्बन्धले मानिसहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको हुन्छ ।

यसै सम्बन्धी विभिन्न खोजहरूमा उल्लेख गरिएका प्रेमभित्रका स्वास्थ्य सम्बन्धी जानकारीहरू यसप्रकार छन् ।

१. तुलनात्मक रुपमा स्वस्थ रहनेः

विवाह र स्वास्थ्यमा गरिएका अध्ययनका केही समीक्षाहरूअनुसार अविवाहित तथा एक्लो व्यक्तिको तुलनामा विवाहित व्यक्तिले कम डाक्टरी जाँच गरेको पाइन्छ । मानव सामाजिक प्राणी भएकाले एक्लो अवस्थामा उसको जैविक प्रणाली विस्तारै कमजोर हुँदै जान्छ । अर्कै व्यक्तिसँगको सम्बन्ध राम्रो रहेका व्यक्तिहरूमा एक अर्काको ख्याल राखिने हुुँदा समस्याहरूको स्वतः समाधान हुन जान्छ ।

२. डिप्रेशन कम हुनेः
विभिन्न प्रतिवेदनहरूमा उल्लेख गरिएअनुसार खुसीपूर्ण वैवाहिक जीवनमा रहने पुरूष र महिला दुवैमा नैराश्यता हराएर जान्छ । नैराश्यताको सम्बन्ध सिधा सामाजिक एक्लोपनसँग जोडिएको हन्छ । युवा किशोरकिशोरीहरूमा विवाह र स्वास्थ्य सम्बन्धका कारण नैराश्यता घट्न गई लागूपदार्थ तथा रक्सीको अत्यधिक सेवन घट्न जाने हुन्छ ।

३. रक्तचाप नियन्त्रण हुनेः

खुसीपूर्ण वैवाहिक सम्बन्धले रक्तचापलाई सामान्य राख्दछ र विभिन्न खोजहरूका अनुसार विवाहित व्यक्तिहरूको रक्तचाप एकल व्यक्तिहरूको तुलनामा राम्रो रहेको देखिएको छ । साथै सामाजिक रुपमा राम्रो सम्बन्ध स्थापना गरेको एकल व्यक्तिमा पनि रक्तचाप सामान्य रहन्छ ।

४. चिन्ता कम हुनेः

मानिसलाई दुःख महसुस भएको बेला प्रेमपूर्ण स्थायी सम्बन्धले दुःख निवारणमा मद्दत गर्दछ । अनुसन्धानकर्ताका केही खोजमा गरिएको अध्ययन अनुसार स्थायी सम्बन्धमा रहेका व्यक्तिहरूमा कम मानसिक पीडा उत्पन्न हुने हुन्छ । यद्यपि रोमाञ्चक सम्बन्धका व्यक्तिहरूमा सोही पीडा बढी उत्पन्न हुन्छ ।

५. दुखाइ कम हुनेः

लामो समयसम्म जोडीको रुपमा रहेका व्यक्तिहरूमा पीडा सहने शक्ति बढी रहन्छ । शारीरिक पीडाको सहनशक्ति बढी देखिन्छ ।

६. तनाव कम हुनेः

जसरी प्रमले पीडा नियन्त्रण गदर्छ , त्यसरी नै तनाव व्यवस्थापनमा पनि मद्दत पुर्याउँछ । प्रेम मानिसले राहत अनभुव गर्नुका साथै तनाव व्यवस्थापन गर्न सक्दछ ।

७. प्रतिरोधात्मक क्षमता बढ्नेः

प्रेमपूर्ण सम्बन्धमा मानिसले दु:ख, तनाव र नैराश्यताको व्यवस्थापनसँगै रोग प्रतिरोधात्मक क्षमता पनि प्राप्ति गर्दछ । स्वस्थ सम्बन्धका व्यक्तिहरूमा चिसो तथा भाइरस सब्क्रमणका कारण रोग लाग्ने सम्भावना कम रहन्छ ।

८. चाँडो निको हुनेः

सकारात्मक सम्बन्धले शरीरमा पर्न गएको घाउ - चोट चाँडो निको हुने हुन्छ । दुई विपरीत स्वभावका जोडीहरूमा गरिएको एक अध्ययनअनुसार प्रेमपूर्ण स्वभावका जोडीहरूमा लगाइएको घाउ -चोट झगडालु स्वभावका जोडीहरूको तुलनामा छिटो निको भएको पाइएको छ ।

९. आयु लामो हुनेः

अनुसन्धानका अनुसार मृत्युदरमा विवाहको प्रभाव रहने गरेको छ । जसअनुसार, विवाहित व्यक्तिको तुलनामा ५८ प्रतिशतभन्दा बढी अविवाहित व्यक्तिको मृत्यु भएको पाइएको छ । विवाहले मानिसहरूमा पारस्परिक सहयोग र आर्थिक सहयोगद्वारा लामोसमयसम्म बाँच्ने अवसर दिने गर्दछ । एक्लोपनका कारण हुने मृत्यु प्रेमपूर्ण वातावरणबाट घट्न जाने हुन्छ ।

१०. खुसी बढ्नेः

प्रेम तथा स्वस्थ सम्बन्धले जीवनमा खुसी ल्याउँछ ।

१५. लामो समयदेखि चलेको प्रेमबाट बिछोड हुँदा त्यसको नकारात्मक असरहरू के के हुन सक्लान् ? मान्छेहरूले प्रेममा धोका पाएपछि किन आत्महत्या गर्छन् ?

दुई विपरीत लिङ्गी व्यक्तिहरू भावनात्मक रुपमा एक -अर्कोसँग सम्बन्धित र नजिक हुन थालेपछि हाम्रो स्नायु प्रणालीले यसलाई सकारात्मक संवेगको रुपमा रेकर्ड गर्न थाल्दछ । यो संवेग गहिरो हुन्छ र व्यक्तिको सम्झना शक्ति जम्मा हुने स्थानमा यसले ठाउँ लिन्छ । जब लामो समयसम्म यो संवेग दिमागमा रहन्छ, स्नायु प्रणालीमा यसको ठाउँ सामान्यीकरण (Generalization) भइसकेको हुन्छ । जब सम्बन्ध टुट्छ वा प्रेमबाट बिछोड हुन्छ, दिमागबाट मानसिक रुपमा एउटा भाग नै घट्नु पर्ने हुन्छ । यदि यो विस्तारै घट्दै जाने हो भने स्नायु प्रणालीमा यसको असर पर्दैन तर एक्कासि छुट्दा उसको मानसिक सन्तुलन अचानक भताभुङ्ग हुन्छ र व्यक्ति पागल जस्तो गरी हिँड्छ ।
प्रेमसँगै व्यक्तिले भविष्यका कैयौँ योजना र भावनाहरू सोचेका हुन्छन् । विशेषतः सकारात्मक योजना, भावना, इच्छा र चाहनाहरू यस समयमा सोच्ने गरिन्छ । त्यसैले जब आफ्नो प्रेमी वा प्रेमिकाबाट साथ पाइँदैन, तब व्यक्तिले केही समयका लागि आफ्नो जीवनको औचित्य नै बिर्सन्छ, आफ्नो जीवनको अर्थ नै देख्दैन । त्यसै समय समाज–परिवारबाट साथ नपाएको र विकल्पहरू नदेखिएको अवस्थामा व्यक्तिले आत्महत्या गरेर आफ्नो अमूल्य जीवनलाई नै नष्ट गरेको पनि पाइएको छ । तर यो एकदमै गलत कुरा हो । यसलाई हामीले सकारात्मक सोचले विस्तारै बदल्दै लानु पर्दछ ।

१६. के ' माया भनेको सेक्स ' र ' सेक्स भनेको माया ' हो ?

मायाप्रेम भनेका संवेगहरू हुन् जुन मानसिक रुपमा उत्पन्न हुन्छन् । यसलाई नाप्न वा यसको उपयोग आँखाले देख्न सकिँदैन । आजभोलि विशेष गरी युवापुस्तामा माया लाउनु भनेको शारीरिक सम्बन्ध स्थापित गर्नु अथवा ' सेक्स ' प्राप्त गर्नु भनेर सोचिने गरिएको छ । यो धारणा धेरै हदसम्म गलत हो ।

वास्तवमा मानव शरीरका प्रमुख आवश्यकताहरूमा भोक, तिर्खा, निद्रा र यौनपरक व्यवहारहरू समावेश छन् । खानाबाट भोक मेटिन्छ । झोलिलो पदार्थको सेवनबाट तिर्खा मेटिन्छ । यसै गरी यौनपरक व्यवहार जसलाई ' सेक्स ' भनिन्छ, अन्य व्यक्तिसँगको सम्भोगले, त्यसै सन्बन्धी गहिरो सोचाइले र कहिलेकाहीं हस्तमैथुनद्वारा आवश्यकताको परिपूर्ति गरिन्छ । यौन व्यवहारका लागि यदि विपरीत लिङ्गी व्यक्तिको सहायता लिइन्छ भने दुवैले एक–अर्कालाई उनीहरूको इच्छा पत्ता लगाउनु र दुवैको इच्छामा तालमेल भएको हुनु अति नै आवश्यक छ । यसो भन्दैमा केटा र केटी भेटिने बित्तिकै र उनीहरूको सोचाइ मिल्ने बित्तिकै ' सेक्स ' भइहाल्नु पर्छ भन्ने चाहिँ बिलकुलै होइन । ' माया ' लाई ' सेक्स ' को पर्याय मान्यौँ भने माया नै बिथोलिने र आफ्ना मायालुहरू आफूबाट टाढा जाने सम्भावना हुन्छ ।

१७. के आफूले मनपराएको व्यक्तिले राखेको यौनसम्पर्कको मागलाई स्वीकार्नु ठिक हो ?

यौन चाहना शारीरिक रुपमा उत्पन्न हुने चाहना हो । यो किशोर - किशोरीदेखि लिएर वृद्ध व्यक्तिसम्म उत्पन्न हुन सक्छ । विशेष गरी मायामा परेका जोडीमा विपरीत लिङ्गीप्रतिको आकर्षणको एउटा भाग यौन पनि मानिएको छ । प्रेमी - प्रेमिका भनेको आफ्नो चाहना अरुमा लाद्नका लागि मात्र बन्ने जोडी होइन, यो त एक - अर्काको चाहनाअनुसार आफूलाई परिवर्तन गरी उज्यालो भविष्यका लागि सँगै हिंड्ने जोडी हुन् । त्यसैले चाहनाहरूको परिमार्जन गर्न सक्नु पनि साँचो प्रेमको प्रतीक हो । दुईजनामध्ये कुनै एकको स्वीकृति र चाहनाबिना नै कुनै व्यवहार हुनै पर्छ भन्ने छैन । त्यसैले विवाह अगाडि आफ्नो इच्छा नभईकन आफूले मन पराएको व्यक्तिको यौनसम्पर्कको मागलाई स्वीकार्दा आफ्नो र उसको भविष्यमा पर्न जाने असरका बारेमा आफूले सोच्न र साथीलाई बताउन जरुरी हुन्छ ।

सामाजिक रुपमा पुरुषको यौनचाहना महिलाको भन्दा उन्मुक्त रुपमा बाहिर आउँछ र उनीहरू आफ्ना महिला साथीसँग यौनसम्पर्कका लागि खुल्ला रुपमा आग्रह गर्दछन् । सामान्यतया हाम्रो समाजमा महिलाहरूको मन कमलो हुने भएकाले कैयौं अवस्थामा भविष्यको व्यवस्था र विचार नै नगरी उनीहरूले यौनसम्पर्क राख्दछन् र यसका नराम्रा परिणामहरू आएपछि पछुताउने गर्दछन् । हाम्रो सामाजिक परिवेशका कारण प्रायः यस्ता नराम्रा परिणाम जस्तै गर्भ रहनुको प्रत्यक्ष पीडा महिलाले नै भोग्नुपर्ने हुन्छ । त्यसैले महिलाले नै आफ्नो राम्रो र नराम्रो सोच्नु पर्दछ । यदि धेरै दवाव भएको खण्डमा मायामा मन र विचार नमिलेको भन्ने बुझ्नु पनि पर्दछ ।

यति मात्र होइन, सुखद यौन जीवनका लागि दुवै व्यक्तिको बीचमा आपसी समझदारीको आवश्यकता पर्ने हुन्छ । त्यसैले यदि दुवैको स्वीकृति नभई यौनसम्पर्क भएमा पछि ग्लानि महसुस हुने र पूर्णरुपमा महिला - पुरुष तृप्त नहुने हुन सक्छ । यस्तो अवस्थामा प्रेमी–प्रेमिकाबीच बिना कारण कलह हुने, डिप्रेशन (Depression) हुने तथा सम्बन्ध नै टुट्नेसम्मका खतराहरू पनि उत्पन्न हुने गर्दछन् ।

१८. आफूले मनपराएको व्यक्तिले यौनसम्पर्कको प्रस्ताव राखेको अवस्थामा के गर्न सकिन्छ ?

कुनै प्रेमी–प्रेमिकाले एक–अर्काको चाहना विपरीत यौनसम्पर्कको इच्छा राख्दछ भने सर्वप्रथम त अर्को पक्षले उसलाई सम्झाउने गर्नुपर्दछ । आवेगमा आएर यौनसम्पर्क गर्न खोजेमा यसबाट हुन सक्ने विभिन्न सामाजिक र स्वास्थ्य समस्याहरूका बारेमा उसलाई जानकारी गराउनु पर्दछ । आफू पनि नरिसाईकन सकेसम्म विभिन्न कुराहरू गरेर उसको ध्यान यौन सम्पर्कभन्दा अन्यत्रतिर मोड्नु पर्दछ । यसबाट पनि विवाद बढ्ने जस्तो लाग्छ भने बिस्तारै भेटघाटमा पनि कमी ल्याउनु पर्दछ र त्यो नै यसको समाधान हो । जबर्जस्ती गर्न खोजेमा नजिकको साथी वा अभिभावकको सहयोग लिनु पर्छ । यौन सम्पर्क कोसँग गर्ने कोसँग नगर्ने भन्ने अधिकार तपाईंको हो ।

इन्टरनेटबाट यौन शिक्षा लिन सकिन्छ ।
साइबर जाने च्याटिङ्ग गर्ने वा इन्टरनेटमा आफ्नो मन परेको वेभसाइट भित्र रमाउने गर्दछन् सहरका धेरैजसो तन्नेरीहरू । बिदाको दिन पर्दा त कलेज र स्कुले किशोर किशोरीहरूको साइवरमा अरु दिनभन्दा बढी नै भिड हुन्छ । यस्तो सुविधा पाउँदा उनीहरूले जीवनका धेरै बाटाहरूको छनौट गर्ने अवसर पाएका हुन्छन् । इन्टरनेटमा च्याटिङ्ग (दुई जना बीच अक्षर टाइप गरेर प्रत्यक्ष गरिने कुराकानी) मार्फत प्रेमका ठट्यौली गर्ने, नयाँ साथी खोजेर सपनाको प्रेममा फस्ने मात्रै नभएर संसारका कुनै पनि देशका मानिसहरूसँग विचार र अनुभव आदान प्रदान गर्न सकिन्छ।
यौन सम्बन्धी वेभ साइडबाट पनि धेरै राम्रा ज्ञान र जीवनोपयोगी सीप हासिल गर्न सकिन्छ । साइवरमा छिरेपछि जसलाई पनि नाङ्गा फोटाहरू (प्रोनोग्राफी) हेर्न मन लाग्छ । हेर्दैमा केही विग्रने पनि होइन । त्यसबाट पनि यौन आनन्द लिन सकिन्छ । तर हेर्दैमा बढी उत्तेजित हुने, आफ्ना उद्देश्य र जिम्मेवारी वा अनुशासनलाई चाहिँ भुल्न हुँदैन । प्रोनोग्राफी हेर्दा त्यसैसँग सम्बन्धित यौन स्वास्थ्यका कुराहरू पनि हेर्न सकिन्छ । यौन स्वास्थ्यका जानकारीहरूबाट सुरक्षित यौन व्यवहार सम्बन्धी ज्ञान पाइन्छ ।
केही वेभसाइटहरूमा किशोर किशोरीहरूको यौन क्रियाकलापलाई अतिरञ्जित तरिकाले दिइएको हुन्छ । यस्तो कुरा हेरेपछि किशोरावस्थाको अपरिपक्व उमेरमा यौन क्रियाकलाप गर्दा जोखिममा कसरी परिन्छ भन्ने कुरा पनि हेर्न भुल्नु हु“दैन । यौन शोषण वा असुरक्षित यौन सम्पर्कका कारण देखिएको दुखद घटनाका अध्ययन प्रतिवेदनहरू पनि पाइन्छन् । त्यसबाट धेरै कुराहरू सिक्न सकिन्छ । इन्टरनेटमार्फत प्राप्त गरेका सब कुरा पूर्ण सत्य हुन्छन् भन्ने छैन । त्यसकारण अरु वेभसाइटहरूमा पनि हेर्नुपर्छ । त्यस्तै, वेभसाइटमा राखिएको प्रश्न सोध्ने ठाउँबाट पनि सोध्न सकिन्छ ।
इन्टरनेट मार्फत यौन शिक्षा सम्बन्धी वेभसाइट हेर्नेहरूले आफूले थाहा पाएका यौन शिक्षाका वेभसाइटहरू आफूसँग इमेल वा च्याटिङ्ग गर्ने साथीलाई बताइ दिएर पनि यौन शिक्षा दिन सकिन्छ । यसरी पनि मानिसमा यौन शिक्षाको विस्तार गर्न सकिन्छ । सूचनाका साधानहरूको तीव्रतर विकासलाई जीवनोपयोगी सीप सिक्न प्रयोग गर्न सक्नु पर्छ ।

१९. हामी जब प्रेममा हुन्छौँ किन अरु केहीको बारेमा सोच्न सक्दैनौँ?

यो एउटा व्यक्तिगत भावना हो । सबै व्यक्ति प्रेममा परेपछि अरु केहीको बारेमा पनि सोच्न नसक्ने हुन्छन् भन्ने छैन तर कसैकसैमा यो समस्या पनि देखिने गरेको छ ।

भावना गहिरो सकारात्मक संवेग हो । प्रेममा परेको व्यक्तिले पटक–पटक आफ्नो प्रेमी - प्रेमिकाका बारेमा सोच्दछ र हरेक पटक संवेग उत्पन्न हुन्छ । यसैकारण उक्त व्यक्तिलाई अरु केही सोच्न नसकेको महसुस हुन्छ । तर प्रेमलाई सफल भविष्यको ऊर्जाको रुपमा विकास गर्नु पर्दछ । प्रेमी प्रेमिकाबीच एकापस सुमधुर सम्बन्ध कायम हुँदा सुन्दर भविष्यका लागि दुवैले गर्नुपर्ने काम, अध्ययन आदिको योजना बनाएर अघि बढियो भने प्रेमले अरुसँगको सम्बन्धलाई पनि राम्रो तुल्याउँछ ।

२०. किन कोही केटा–केटीहरू विपरीत लिङ्गीलाई साथी बनाउन अप्ठ्यारो मान्दछन् ? केटा केटी विचको भेटघाट र कुराकानीलाई समाजले किन नकारात्मक दृष्टिकोणले हेर्छ ?

हाम्रो समाजमा प्रायःजसो केटाकेटीहरू विपरीत लिङ्गीलाई साथी बनाउन अप्ठेरो मान्दछन् र जति सजिलै समान लिङ्ग भएका व्यक्तिहरू साथी बन्न सक्दछन् त्यति सजिलै विपरीत लिङ्गीहरू साथी बन्न सक्दैनन् । यसका थुप्रै कारणहरू हुन सक्दछन् । जसमध्ये एउटा प्रमुख कारण सामाजिक कारण हो । हाम्रो समाजमा धेरै राम्रा तथा नराम्रा चलनहरू पहिलेदेखि नै चल्दै आएका छन् । धेरै नराम्रा चलनहरूमध्ये केही चलन हामीले आधुनिकता सँगै बदल्यौं तर अझै केही त्यस्ता सोचाइ र चलन जीवितै छन् जसले हाम्रो व्यवस्थामा मात्र नभई सोचाइमा पनि जरो गाडेर बसेका छन् । यस्तै एउटा चलन हो केटा र केटीको हेलमेल झट्टै नहुनु ।
सामान्यतया हाम्रो समाजमा केटा र केटीसँगै बसेको, हिँडेको वा कुराकानी गरेको देख्ने बित्तिकै नराम्रो रुपमा हेर्ने गरिन्छ । अनावश्यक कुरा पनि काट्ने गरिन्छ । त्यसैले हामीले हुर्काइको क्रममा नै विपरीत लिङ्गीको सम्बन्ध भन्ने बित्तिकै सामान्य सम्बन्ध होइन भन्ने मानसिकता विकास गरेका हुन्छौं र हामी विपरीत लिङ्गीलाई साथी बनाउन अप्ठेरो मान्ने गर्दछौं ।
तर यसो भन्दैमा यसमा भएका सकारात्मक पक्षहरूलाई भने हामीले बिर्सनु हुँदैन । किनभने छिटो हेलमेल भइहाल्यो भने एक अर्कालाई चिन्ने र बुझ्ने समय पनि पाइ“दैन । त्यसैले हाम्रो समाजमा यो चलन चल्दै आएको छ । वैज्ञानिक रुपमा हेर्दा पनि केटाकेटी साथी बनाउन अप्ठेरो मान्नु स्वाभाविक नै देखिन्छ किनकि दुई भिन्न प्रकृति र स्वभाव भएका प्राणीलाई एक अर्काको भावना बुझ्ने मौका दिनु पर्दछ । नबुझी साथी बनाउँदा दुर्घटना हुन सक्छ ।

२१. केटी मान्छेले केटाहरूसँग बोल्न डराउनु पर्छ, हो ?

वास्तवमा केटा र केटी सबैभन्दा बढी खुलेर कुरा गर्न मिल्ने प्राणी हुन् । तर केही कारणहरूले गर्दा उनीहरू यसो गर्न सत्तैनन् । यसका थुप्रै कारणहरू हुन सक्छन् जसमध्ये प्रमुख कारण सामाजिक कारण हो ।
हाम्रो समाजमा जति अवसर तथा स्वतन्त्रता केटाहरूलाई हन्छ त्यति केटीहरूलाई हदुँ नै जसको कारणले केटीहरू विभिन्न सामाजिक र आथिर्क कायर्बाट वन्चितहनु बाध्यछन् । बाल्यकालदेखि नै केटीहरूलाई सुशील हनुपर्ने, धेरै बोल्न नहुने, आफ्नो प्रतिष्ठा-अनुशासनमा बस्नुपर्छ भन्ने कुराहरु सिकाइन्छ । फलस्वरुप केटीहरू केटाहरू जस्तो खुले कुरा गर्न सक्दनैन् ।
तर अहिले नयाँ पद्धतिको शिक्षा, समाजको सोचमा क्रमशः सुधार तथा लैङ्गिक विकास सम्बन्धी विभिन्न कार्यक्रमहरूद्वारा केटीहरूका अवसरहरू बढ्दै गइरहेका छन् जसले केटीहरूमा पनि केटाहरू जस्तै खुलेर कुरा गर्न सक्ने वातावरणको विकास हुँदै छ ।

२२. के कुनै सम्बन्ध मायामा पर्नाले हाम्रो पढाइलाई केही हानि पु-याउँछ ?

माया प्रेम भनेका मानवमा हुने उत्कृष्ट संवेगात्मक भावनाहरू हुन् । यो हामी आमाको गर्भमा भएको केही महिनापछि नै विकास हुन्छ । किशोरावस्थामा हुने प्रेमसम्बन्ध यसको विकसित रुप हो । कोही व्यक्तिले नयाँ साथी बनाउँदा वा उससँग प्रेम सम्बन्ध राख्दा उसको पढाइ बिग्रने र सुध्रिने भनेको सोही व्यक्तिले सम्बन्धलाई कसरी लिएको छ भन्ने कुरामा निर्भर गर्दछ । हामीले जीवनको आवश्यकतालाई कसरी प्राथमिकीकरण गरेका छौं भन्ने कुरामा निर्भर गर्दछ । त्यसैले यदि हामी प्रेम सम्बन्धलाई मात्र हाम्रो जीवन हो भन्ने ठान्दछौं भने स्वाभाविक रुपमा पढाइ मात्र हैन हाम्रो जीवनको बाँकी सबै व्यवहारमा यसले असर गर्दछ । यदि यस्तो भयो भने हाम्रो सम्बन्धको परिणाम नकारात्मक देखियो भन्ने कुरा बुझ्नु पर्दछ । वास्तविकता के हो भने प्रेम सम्बन्ध, जो किशोरअवस्थामा सुरु हुन्छ, त्यो त सामाजिकता र सामाजिक सम्बन्धको एउटा भाग मात्र हो । तर पढाइ भनेको हाम्र्रो भविष्य - निर्धारक, पेसा - निर्धारक र सामाजिक प्रतिष्ठा निर्धारक तङ्खव हो ।